सुर्खेत : महालक्ष्मी विकास बैँक लिमिटेड सुर्खेत शाखाले सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत वीरेन्द्रनगर नगरपालिका –९ स्थित शिव माध्यमिक विद्यालयमा कक्षा १० ( कृषि तर्फ ) र कक्षा ११ ( शिक्षा संकाय ) का विद्यार्थीहरूलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। मंगलबार बैङ्कले स्थानीय विद्यालयका विद्यार्थीहरूलाई वित्तीय व्यवहार, बैङ्किङ प्रणाली तथा डिजिटल प्रविधिबारे प्रारम्भिक तर महत्वपूर्ण ज्ञान प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको हो।
शाखा प्रबन्धक खगेन्द्र कुमार बुढाले कार्यक्रममार्फत विद्यार्थीहरूलाई दैनिक जीवनमा अत्यावश्यक हुने वित्तीय योजना, आम्दानी–खर्च व्यवस्थापन, बचतको महत्व, कर्जा लिनु–दिनुका प्रक्रिया, धितोपत्र बजारको आधारभूत समझ, तथा डिजिटल बैङ्किङका सुविधा र सावधानी जस्ता विषयहरूमा विस्तृत प्रष्टिकरण दिएका थिए। उनका अनुसार बालबालिकादेखि युवा पुस्तासम्म आर्थिक व्यवहार बारे सचेत बनाउनु बैङ्कको दीर्घकालीन लक्ष्य हो। “वित्तीय साक्षरता कमजोर हुँदा व्यक्ति मात्रै होइन, परिवार र समग्र समाज नै जोखिममा पर्न सक्छ।
त्यसैले बैङ्कले गाउँ– नगरका विद्यालयदेखि सामुदायिक समूहसम्म पुगेर यस्ता साक्षरता कार्यक्रम निरन्तर गर्दै आएको छ,” प्रबन्धक बुढाले बताए। बैङ्कले देशभर फैलिएका १०३ शाखा, ३३ एटीएम तथा ९० प्रतिशतभन्दा माथि डिजिटल बैङ्किङको पहुँच मार्फत ग्राहकलाई सहज र सुरक्षित सेवा उपलब्ध गराइरहेको जानकारी पनि उनले थपे। डिजिटल बैङ्किङको विस्तारसँगै अनलाइन भुक्तानी, क्युआर सेवा तथा मोबाइल बैङ्किङको प्रयोग उल्लेख्य रूपमा बढ्दै गएको बैङ्कको भनाइ छ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले बैङ्किङ प्रणालीबारे आफूले सुनेर मात्र जान्ने गरेका धेरै कुरा पहिलोपटक व्यवहारिक रूपमा बुझ्न पाएको प्रतिक्रिया दिएका छन्। विद्यालय प्रशासनले पनि यस्ता वित्तीय अभिमुखीकरणका कार्यक्रमले विद्यार्थीहरूलाई भविष्यमा अध्ययन, जागिर वा व्यवसायिक जीवनमा सजिलो बनाउने बताएको छ। विद्यालयका शिक्षकहरूले बैङ्कले विद्यालयसम्म आएर सरोकारका विषयमा जानकारी दिनु सकारात्मक कदम भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुने आशा व्यक्त गरेका छन्। महालक्ष्मी विकास बैङ्कले सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय समुदायमा वित्तीय पहुँच, सचेतना र सकारात्मक आर्थिक अभ्यास विस्तार गर्न विभिन्न आयोजक –सहभागी कार्यक्रम अगाडि बढाइरहेको छ।
