दाङ : दाङमा ओभरलोड बोक्ने ८० वटा सवारी साधनलाई कारवाही गरिएको छ । जिल्लाभर सञ्चालन गरिएको विशेष चेकजाँच अभियानको क्रममा ओभरलोड ढुवानी गर्ने ८० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका विभिन्न प्रहरी इकाईहरूले मंसिर ६, ७ र ८ गते तीन दिनसम्म लगातार गरेको चेकजाँचका क्रममा ढुङ्गा, चुनढुङ्गा, गिट्टी तथा बालुवा अत्यधिक भारसहित ढुवानी गर्दै आएका ट्रिपर लगायतका सवारीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी चक्र बहादुर शाहले जानकारी दिए ।
उनका अनुसार नियन्त्रणमा परेका प्रत्येक सवारी साधनलाई जनही २ हजार रुपैयाँका दरले जम्मा १ लाख ६० हजार रुपैयाँ जरिवाना असुली गरिएको छ । आवश्यक कानूनी प्रक्रिया पूरा गर्दै चालक तथा सवारीधनीलाई ओभरलोड ढुवानी गर्दा हुन सक्ने दुर्घटनाको जोखिम, सडक क्षति र कानूनी कारबाही बारे कडाइका साथ सम्झाइबुझाइ पछि छाडिएको प्रहरीले जनाएको छ । प्रहरीले ओभरलोड ढुवानीले सडक संरचना नष्ट हुने, दुर्घटनाको जोखिम बढ्ने तथा अवैध ढुवानीलाई प्रोत्साहन दिने भएकाले आगामी दिनमा अझ कडाइका साथ चेकिङ जारी राखिने चेतावनी दिएको छ । यस किसिमको अनुगमनले जिल्ला भित्र ओभरलोड नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास पनि प्रहरीले लिएको छ ।
