दाङ : दाङमा प्रहरीले लागू औषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ७ राजापुरका ३० वर्षीय कुमार नेपाली र सोही ठाउँका २३ वर्षीय विजय अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यस्तै अर्का रोल्पा माडी गाउँपालिका २ घर भई हाल घोराही उपमहानगरपालिका १३ बस्ने ३४ वर्षीय कर्ण बहादुर बिक रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी जनक बहादुर मल्लका अनुसार सोमबार तुलसीपुर उपमहानगरपालिका –७ राजापुरस्थित लोचन राईको घरमा लागूऔषध बिक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरीले नेपाली र अधिकारीलाई पक्राउ गरेको हो । उनीहरूको शरीर खानतलासी गर्दा दुवैजनाबाट ब्राउन सुगर जस्तो देखिने १ ग्राम ९४० मिलिग्राम खैरो धुलो पदार्थ बरामद भएको छ । दुवैजनालाई नियन्त्रणमा लिएर मङ्गलबार जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरीले जनाएको छ ।
यसैबीच बिकले घोराही १३ वनगाउँमा सञ्चालन गरेको बङ्गुर फर्ममा बसेर लागूऔषध कारोबार गर्दै आएको सूचनाका आधारमा खटिएको पहरीले फार्ममा गरेको चेकजाँच तथा शरीर खानतलासीका क्रममा उनको साथबाट ब्राउन सुगर जस्तो देखिने ८०० मिलिग्राम खैरो धुलो पदार्थ फेला परेपछि उनलाई नियन्त्रणमा लिएको हो । उनलाई पनि मङ्गलबार अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
