दाङ : नेपाल समाजवादी पार्टी ( नयाँ शक्ति ) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा राजतन्त्र भूत भइसकेकोले आउन असम्भव रहेको भन्दै ब्यवस्था पछाडि फर्केर समस्याको हल नहुने दाबी गरे । रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले नेपाली जनताले ठूलो बलिदानी गरेर राजसंस्था नेपालबाट हटाएकोले त्यसलाई फिर्ता गर्ने मुर्खता हुने टिप्पणी गरे । उनले नेपालमा राजसंस्था आउँदै नआउने ठोकुवा पनि गरेका थिए । लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएकोले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरेर जानुपर्ने उनको जोड थियो ।
त्यस्तै उनले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङले राम्रो काम गरिरहेकोले अहिलै हटाउनु गलत भएको बताएका छन् । आफू सरकारको नेतृत्वमा भएको भए कुलमानलाई पूरा अवधि काम गर्न दिने बताए । उनले आफू भइ दिएको भए अबको चार महिना पछि रिटायर्ड हुन थालेका कुलमानलाई सम्मान पूर्वक बिदाइ गर्ने बताए । ‘ म भइ दिएको भए उनलाई चार महिनाको अवधि पुरा गरेपछि बिदाइ गर्थे,’ उनले भने ‘ अहिलै उनलाई चलाउनु सही थिएन ।’ उनले संस्थान, प्राधिकरणजस्ता राज्यका अर्धस्वायत्त अङ्गहरूमा दलीय हस्तक्षेप र नियन्त्रण हुनु हुँदैन् भनेर थिति बसालेको भएपनि पछिल्लो समय त्यो भत्किएको बताए ।
यस्ता समस्या विधिले हल गर्नको लागि आफू सरकारको नेतृत्वमा छँदा संस्थान निर्देशन बोर्ड गठन गरेको पनि उनले स्मरण गरेका थिए । पछिल्लो समय त्यो निर्देशन बोर्ड भत्काइएको र दलीय चरम हस्तक्षेपका कारण सरकारको आलोचना भइ रहेको पनि उनले बताए । यतिखेर कुलमानलाई सरकारले किन हटायो भन्ने कुरा सरकारले नै जवाफ दिनुपर्ने बताए । त्यस्तै उनले नेपालको अर्थ राजनीतिमा यतिबेला गम्भिर सङ्कटमा रहेको टिप्पणी गरे ।
उनले मिश्रित निर्वाचन प्रणालीले नै अहिलेको राजनीतिक संरचनामा समस्या निम्त्याएको औंल्याउँदै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेशमा मुख्यमन्त्री नहुँदा सम्म अझै २० वर्षसम्म पनि यस्तो अस्थिरता आइरहने दाबी गरे । यस्तो अस्थिरताले समस्याको समाधान हुनुको साटो झनै समस्या थपिने उनको भनाई छ । उनले जतिसक्दो छिटो राष्ट्रिय सहमति बनाएर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री प्रदेशमा हुनुपर्ने व्यवस्थाको वकालत गरे । उनले पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित संसद् र प्रदेश सभा बनाउन सकेमा राष्ट्रपति र मुख्यमन्त्रीले विज्ञहरू लिएर मन्त्रिपरिषद् चलाउने र त्यसले राम्रो काम गर्ने विश्वास ब्यक्त गरे ।
