
दाङ : दाङ जिल्ला अन्तरपालिका स्तरीय १५ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । दाङ जिल्ला खेलकुद विकास समिति बेलझुण्डीको आयोजना तथा प्रदेश खेलकुद परिषद लुम्बिनीको तत्त्वावधानमा यही जेठ १५ गते देखि प्रतियोगिता सुरु हुनेछ । जिल्ला खेलकुद विकास समितिको आइतबार बसेको खेल सम्बन्ध सङ्घका अध्यक्ष तथा प्रतिनिधि र कर्मचारी सहभागी बैठकले प्रतियोगिताको मिति तय गरेको हो ।
साथै बैठकले रनिङ शिल्डलाई भव्य एवं सभ्य तवरले सम्पन्न गर्न समितिका कार्यालय प्रमुख राकेश परियारको संयोजकत्वमा रनिङ शिल्डमा सहभागी हुने ६ खेलका सङ्घ र सबै खेलका प्रशिक्षक सदस्य रहने गरि प्रतियोगिता मूल आयोजक समिति गठन गरेको छ । त्यस्तै बैठकले मूल आयोजक समितिको मातहतमा रहने गरि विभिन्न उपसमिति समेत गठन गरेको कार्यालय प्रमुख राकेश परियारले जानकारी दिए ।
परियारका अनुसार आर्थिक सङ्कलन, मञ्च व्यवस्थापन ,खेल मैदान मर्मत व्यवस्थापन, आतिथ्य सत्कार, प्रचार प्रसार, विवाद समाधान, पुरस्कार तथा प्रमाणपत्र व्यवस्थापन, प्राथमिक उपचार लगायतका उपसमिति गठन गरिएको छ । यस्तै बैठकले प्रतियोगितामा सहभागी हुने पालिका लाई टिम दर्ताको अन्तिम मिति यही जेठ १३ गते सम्म तोकेको छ भने खेलाडीहरूको आवश्यक विवरणको फाइल सहित जिल्ला खेलकुदको कार्यालय बेलझुण्डीमा टिम दर्ता गर्न सबै पालिका लाई पत्राचार मार्फत अनुरोध गर्ने निर्णय गरेको छ । तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसु खेल विधामा जिल्लाका दस स्थानीय पालिका का खेलाडी बिच कडा प्रतिस्पर्धा हुनेछ ।
