
दाङ : लुम्बिनी प्रदेश सभामा सरकारको तर्फबाट प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ । शुक्रबार छैटौँ अधिवेशनको सातौँ बैठकबाट आर्थिक वर्ष २०८२ / ८३ को नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका हुन । सोही प्रस्तावको आधारमा दलगत प्रतिनिधित्वको आधारमा प्रदेश सभामा छलफल भइरहेको हो ।
लुम्बिनी प्रदेश सरकारले कृषि, उद्योग, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रलाई प्राथमिकता राख्दै २०४ बुँदे वार्षिक नीति तथा कार्यक्रम ल्याएको थियो ।यस्तै, लुम्बिनी प्रदेश सभाको शुक्रबार बसेको छैटौँ बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभालाई सम्बोधन गर्दै प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रमको एक प्रति मुख्यमन्त्री आचार्यले पेश गरेका थिए ।
प्रदेश प्रमुखको सम्बोधन प्रति प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीले पेश गरेको धन्यवाद ज्ञापनको प्रस्तावलाई प्रदेश सभा सदस्य जमुना ढकालले समर्थन गरेकी हुन। प्रदेश सभाले धन्यवाद ज्ञापनको प्रस्ताव सर्वसम्मतिले पारित गरेको घोषणा सभामुख तुलाराम घर्तीमगरले गरेका थिए ।
