
दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खड्काले आगामी वर्षभित्र नगरलाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने गरि तयारी गर्ने बताए । नवजागरण महिला तथा बाल संरक्षण केन्द्र तुलसीपुरको आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको सहयोगमा आयोजित सरोकारवालाहरूसँगको छलफलमा खड्काले यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।
बालमैत्री स्थानीय शासन घोषणा गर्नका लागि पार गर्नुपर्ने सूचकहरू पुरा गर्न उपमहानगर तयार रहेको बताउँदै मेयर खड्काले सहयोगी निकायसँग सहकार्य गरेर अघि बढ्ने बताए । अभिभावक, समाज र सरोरकारवाला निकायको सहयोग विना पालिका एक्लैले बालमैत्री वातावरण निर्माण गर्न नसक्ने भन्दै यसका लागि सबै तयारी हुनुपर्ने बताए ।
न्युसिपीसीका अध्यक्ष नवराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा समाजिक विकास डिभिजन तुलसीपुरका प्रमुख गिरिराज पाण्डे, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे, नेपाल पत्रकार महासङ्घ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, रासस दाङका प्रमुख नारायणी रजौरे, कार्यपालिका सदस्य यमुना परियार, होटल व्यवसायी सङ्घका केन्द्रिय सदस्य नेत्र वली, तुलसीपुर उद्योग वाणिज्य सङ्घका सदस्य मिना रावत, लगायतले बोलेका थिए ।
सदस्य दिप्तीशीखा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव नानीमैया केसीले गरेकी थिइन् । कार्यक्रममा बाल, संरक्षण, बाल बचाउ, बालमैत्री स्थानीय शासन लगायतका विषयमा बालमैत्री विज्ञ दुर्गालाल केसी, माया श्रेष्ठले आ–आफ्नो प्रस्तुती राखेका थिए ।
