
दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समृद्धि र विकासलाई केन्द्रमा राखेर सरकारले ल्याएको नीति तथा कार्यक्रमको जगमा उभिएर बजेट निर्माण गरिने स्पष्ट पारे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजना तथा दायित्व अभियानको समन्वयमा सोमवार राप्ती उपत्यका देउखुरीमा आयोजित शासकीय सुधार, आर्थिक विकास र युवा उद्यमशीलता सम्बन्धी नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान नीति तथा कार्यक्रमले उठाएका प्राथमिकतालाई बजेटले सम्बोधन गर्ने बताए ।
‘ सरकारले धेरै मेहनत गरेर नीति तथा कार्यक्रम ल्याएको छ । त्यसको जगमा नै उभिएर बजेट ल्याउँछौँ । अहिले मन्त्रालयगत तहमा यही दिशामा काम अघि बढेको छ भन्ने विश्वास लिएको छु,‘ उनले भने,‘ नीति तथा कार्यक्रम र बजेट एक अर्कासँग अन्तरसम्बन्धित हुन्छन् । एक अर्कालाई जोड्नेगरी काम अघि बढेका छन् । नीति तथा कार्यक्रमले बोलेको कुरालाई बजेटले सम्बोधन गर्नै पर्छ । सरकार गम्भीर भएर यसमा लागेको छ ।’
त्यसैगरी, उनेले प्रदेशलाई सार्वभौम र अधिकारसम्पन्न बनाउने गरी सङ्घीय तहमा सुझाव दिन आवश्यक रहेको धारणा राखे । यातायात क्षेत्र प्रदेशको एकल सुचीमा परेपनि ट्राफिक जरिवानाको राजस्व प्रदेशमा दाखिला नहुने जस्ता व्यवहारिक समस्याको समाधानका लागि वातावरण तयार गर्नुपर्नेमा उनले जोड दिए । प्रदेशको आन्तरिक स्रोतको ठूलो हिस्सा वन हो । सङ्घीय कानुनका कारण प्रदेशले खुलेर काम गर्न सकेको छैन । सङ्घीय कानुन संशोधनका लागि पटक–पटक पहल गरेका छौँ, उनले भने,‘ अहिले राजस्व सङ्कलनमा सुधार भएको छ । डेढ अर्ब राजस्व वृद्धि भएको छ । अपेक्षा अनुसार वनबाट राजस्व सङ्कलन हुन नसक्दा सरकारले चाहेका कामहरूलाई अघि बढाउन समस्या पर्दो रहेछ ।’
प्रमुख सचिव बाबुराम अधिकारीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले लुम्बिनीमा स्रोत वृद्धिका लागि ध्यान दिइने बताए । सो अवसरमा पूर्व अर्थ सचिव रामेश्वर खनालले कृषि, उद्योग, व्यापार, पर्यटन, नवीकरणीय उर्जा र खानीका क्षेत्रमा अपार सम्भावना रहेको उल्लेख गर्दै, सबल नीति कार्यान्वयनबाट लुम्बिनीलाई आर्थिक केन्द्र बनाउन सकिने बताए ।
पूर्व सचिव कृष्ण ज्ञवालीले प्रदेश सुदृढ बनाउन सुशासन प्रवर्द्धनमा प्राथमिकता दिनुपर्ने सुझाव दिए। उनले विधि, विवेक र आचरणमा सुधार गर्दै सदाचारको अभ्यास आवश्यक रहेको बबताए ।दायित्व अभियान अध्यक्ष डा. पुष्कर मल्लले उद्यम–केन्द्रित रोजगारी सिर्जनामा जोड दिनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव कविन्द्र नेपालले सार्वजनिक चासो र सरोकारका बिषयहरूमा छलफल गर्दै परिमार्जन र सुझाव लिने गरी नीति संवादलाइ चरणबद्ध रुपमा निरन्तरता दिइने जानकारी दिए ।
