दाङ : पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको आयोजनामा शान्तिनगर गाउँपालिकामा अर्गानिक खेती, समालोचना र जैविक विविधताको विषयमा विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम केन्द्रका अध्यक्ष डिल्लीराम रावतको अध्यक्षतामा, गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यतामा र प्रमुख प्रशासकीय अधिकृत भेषराज चन्दको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा सहभागी किसान, जनप्रतिनिधि तथा प्राविधिकहरुले पछिल्लो समय अत्यधिक रूपमा प्रयोग भइरहेको रासायनिक मल तथा विषादीका कारण मानव स्वास्थ्य, माटो र वातावरणमा गम्भीर असर परिरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए। कार्यक्रममा नवयुग कृषि सहकारी संस्था शान्तिनगर–५ का अध्यक्ष तिलकबहादुर वलीले घरपालुवा गाईगोरु पाल्न छोडिएको र प्राङ्गारिक मल अभावका कारण रासायनिक मल प्रयोग गर्न बाध्य भएको बताए। उनले भने, “अर्गानिक खेती गर्दा उत्पादन कम हुन्छ, त्यो अवस्था झेल्न किसान सक्षम छैनन्। यदि राज्यले क्षतिपूर्ति दिने हो भने मात्रै अर्गानिक खेती सम्भव हुन्छ।”
यस्तै गाउँपालिकाका कृषि प्राविधिक केशव केसीले गत वर्ष गाउँपालिकाका सातै वडामा अर्गानिक विषादी बनाउने तालिम दिइएको जानकारी दिए। उनले तालिम प्रभावकारी भए पनि व्यावसायिक रूपमा अर्गानिक खेती गर्न अझै चुनौतीपूर्ण रहेको बताए। “खाद्य सुरक्षालाई हेर्दा हाल पूर्ण अर्गानिक खेती सम्भव छैन, तर विस्तारै प्रवद्र्धन गर्दै लैजानुपर्छ,” उनले भने।
यस्तै शान्तिनगर–३ का वडाध्यक्ष मिनबहादुर केसीले झारमार्ने विषादीले समेत वातावरणमा असर पारिरहेको भन्दै सचेत हुनुपर्ने बताए। वडा नं. ५ का वडाध्यक्ष ओपेन्द्रबहादुर रावतले भने, “अहिले नै किसानलाई अर्गानिक खेती गर भन्न मिल्दैन, तर रासायनिक प्रयोग क्रमशः घटाउँदै जानुपर्छ।” उनले किसानले उत्पादन गुमाउँदा त्यसको क्षतिपूर्ति राज्यले दिनुपर्ने माग राखे।
कार्यक्रम बोल्दै प्रमुख अतिथी गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले अर्गानिक खेती प्रवद्र्धन गर्न गाउँपालिकाले तालिमसहित बजेट व्यवस्था गर्दै आएको बताए। उनले कृषकले प्रयोग गर्ने विषादीको तथ्याङ्क संकलन गरिएको उल्लेख गर्दै टमाटर र काँक्रामा सबैभन्दा धेरै विषादी प्रयोग हुने तथ्य पत्ता लागेको जानकारी दिए। उनले कृषि एम्बुलेन्स सञ्चालन र उत्पादनको बजारिकरणका लागि समेत योजना रहेको बताए।
कार्यक्रममा गाउँपालिकाका सातै वडाका वडाध्यक्ष तथा जनप्रतिनिधि, विभिन्न शाखाका प्रमुख वा प्रतिनिधि, सहकारीका अध्यक्षहरू, तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण संस्थाकी कार्यक्रम अधिकृत साधना शर्माले गरेकी थिइन्।
