
दाङ : इलाका प्रहरी कार्यालय खिलतपुरले कार्यालय परिसरमा शिशु स्याहार कक्ष निर्माण गरेको छ। कार्यालयमा सेवा लिन आउने आमाहरुलाई बच्चा स्तनपान गराउन असहज हुने समस्या देखिएपछि उक्त कक्ष निर्माण गरिएको हो । कार्यालय प्रमुख प्रहरी निरीक्षक खिमबहादुर खड्काका अनुसार आफू जिम्मेवारीमा आएपछि यस्तो समस्या देखिएपछि स्तनपान तथा शिशु स्याहार कक्ष निर्माण गरिएको हो ।
‘प्रायः घरेलु हिंसासम्बन्धी उजुरी दिन आउने पीडित वा पीडक महिला साना बच्चा लिएर आउँछन्। लामो छलफलमा बस्दा बच्चा सुताउन वा स्तनपान गराउन समस्या हुन्थ्यो। अब यस कक्षले आमाहरुलाई राहत दिएको छ,’ उनले भने । खिलतपुर इलाका प्रहरी कार्यालयको माहतमा इप्रका हापुर, प्रहरी चौकी चिराघाट, हंसपुर र बबई १ गंगटेमा अस्थायी प्रहरी पोस्ट रहेको छ, भने जिम्मेवारी क्षेत्रमा दाङको बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका र तुलसीपुर–१ पर्छन् ।
उक्त क्षेत्रमा बालविवाह, बहुविवाह, घरेलु हिंसा, करणी, चोरी–ठगी, नदीजन्य पदार्थ तथा वन पैदावार चोरी–निकासी, लागुऔषध दुव्र्यसन, आत्महत्या र बोक्सी आरोपजस्ता घटना हुने गरेको उनले बताए । हाल कार्यालयमा ७६ जनाको दरबन्दी भए पनि ४७ जना मात्र प्रहरी कार्यरत छन्। त्यसमध्ये २ जना विदामा र २ जना तालिममा रहेकाले हाल ४३ प्रहरीमार्फत करिब ६३ हजार २५९ जनाको सुरक्षा सुनिश्चित गर्नुपर्ने बाध्यता रहेको उनले बताए । उनका अनुसार जनशक्ति अभावकै कारण एक जना प्रहरीलाई औसतमा १ हजार १५० जनाको सुरक्षा जिम्मेवारी पर्न गएको छ ।
