दाङ : घोराही उपमहानगरपालिकालाई आगामी माघ १५ गते ‘लैङ्गिक हिंसा नियन्त्रणित नगर’ घोषणा गरिने भएको छ। महिला, बालबालिका तथा सामाजिक विकास शाखाले सोमबार आयोजना गरेको नगर स्तरीय लैङ्गिक हिंसा निवारण समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हो। बैठक नगर प्रमुख एवं समितिका संयोजक नरुलाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो।
नगरको स्थापना दिवसकै अवसरमा यो घोषणा गरिने बताइएको छ। शाखा प्रमुख मोतिकुमारी विश्वकर्माका अनुसार, नगरलाई लैङ्गिक हिंसा नियन्त्रणित बनाउने विभिन्न सूचीहरू पूरा गर्दै, सचेतना तथा अभिभुतीकरण कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन्। टोल तथा वडा तहबाट पनि यस अभियानलाई सफल बनाउन विविध कार्यक्रमहरू जारी छन्। नगर प्रमुख नरुलाल चौधरीले परिवार र समाजमा शान्ति कायम गर्नु आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक विकासका लागि अत्यावश्यक रहेको बताए।
