दाङ : नेकपा एमाले दाङको जनसङ्गठन समन्वय संयन्त्रले यही असोज २६ गते घोराहीमा आयोजना गरेको शान्तिपूर्ण वृहत जनजागरण सभाको तयारी पूरा भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका सबै घटनाको सत्यतथ्य छानबिन, दोषीलाई कारबाही र नागरिकमा शान्ति सुरक्षाको प्रत्यवायी र लुटिएका सरकारी तथा व्यक्तिगत सम्पत्ति फिर्ताको माग गर्दै पार्टीको जनसङ्गठन समन्वय संयन्त्रको आयोजनामा घोराहीमा शान्तिपूर्ण जनजागरण सभा हुन लागेको हो ।
संयन्त्रका संयोजक मनोहर बुढाथोकीले कार्यक्रमको तयारी सबै पूरा भएको जानकारी दिए । हालको राजनीतिक परिस्थितिले देशलाई अराजकता र अस्थिरतातर्फ धकेल्ने खतरा बढेको भन्दै त्यसविरुद्ध शान्तिपूर्ण जागरण सभाको आयोजना गरिएको उनले बताए । जेनजी आन्दोलनका क्रममा भएका सबै घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने, व्यक्ति हत्या, कुटपिट, लुटपाट, आक्रमण, सार्वजनिक सम्पत्ति आगजनी, व्यक्तिगत सम्पत्ति आगजनी र तोडफोड लगायतका घटनाको निष्पक्ष छानबिन गरेर घटनामा संलग्नको पहिचान गरि कारबाही गर्नुपर्ने, विधिको शासन र संविधानको रक्षा, राष्ट्रिय हित, स्वाभिमानको संरक्षण, भूमिहीन सुकुम्बासीको न्याय, सुरक्षाकर्मी तथा कर्मचारीहरूको मनोबल उच्च बनाउन र आन्दोलनको नाममा देखिएको अराजकताविरुद्ध सबैलाई एक हुन आह्वान गर्ने लगायतका नाराहरू लगाइने छ ।
