दाङ : दाङका विभिन्न स्थानमा अवैध रुपमा नदीजन्य पदार्थ ढुँगा र तालुवा उत्खनन गर्ने ५ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको टोलीले गढवा गाउँपालिका– ४ पर्सिया स्थित राप्ती खोलाबाट मिस्कट उत्खनन गरी लैजाँदै गरेका रा १ त ३२०१ र रा १ त २७९७ नम्बरका दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको हो । उक्त ट्याक्टरहरूलाई प्रति ट्याक्टर ३० हजार रुपैयाँ दरले जम्मा ६० हजार रुपैयाँ जरिवाना गरी गढवा गाउँपालिकाको कारवाही पश्चात सम्बन्धित व्यक्तिहरूको जिम्मामा बुझाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै, इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बबई गाउँपालिका –७ ओदाले र बेलासपुर क्षेत्रमा अवैध रुपमा ढुङ्गा र बालुवा उत्खनन गर्ने रा १त २५५९, लु २त ९५७२, र रा १त ४८४० नम्बरका तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । ती ट्याक्टरहरूलाई प्रति ट्याक्टर १० हजार रुपैयाँ जरिवाना गरी जम्मा ३० हजार रुपैयाँ बबई गाउँपालिकाको कारवाही पश्चात सम्बन्धित व्यक्तिहरूको जिम्मामा पठाइएको प्रहरीको भनाइ छ । प्रहरीले जिल्लाभर अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्नेविरुद्ध निगरानी थप कडा पारिएको जनाएको छ ।
