दाङ : दाङमा माघ सांस्कृतिक महोत्सव सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार महोत्सवको उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले थारू समुदायको प्रदेशका हरेक निकायमा १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको बताए। प्रदेशमा झण्डै १५ प्रतिशत थारू समुदायको जनसङ्ख्या छ, त्यसलाई सम्बोधन गर्दै राज्यका हरेक निकायमा १४ प्रतिशत सुनिश्चित गरिएको र निजामती सेवामा प्रवेश गर्न आह्वान गरे । उनले ले प्रदेशमा बोलिने थारू लगायत चलनचल्तीको भाषालाई सरकारी कामकाजको भाषा बनाउने गरी ऐन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
थारू समुदायको कला, संस्कृतिको प्रबर्द्धन गर्न थारू सङ्ग्रहालय निर्माणमा प्रदेश सरकारले सहयोग गरेको जानकारी दिए । थारू कल्याणकारिणी सभा दाङले थारू समुदायको कला संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले माघ सांस्कृतिक महोत्सव माघ सांस्कृतिक महोत्सव आयोजना गरेको हो । पुसको २० गतेसम्म महोत्सव चल्ने छ । महोत्सवमा थारू नृत्य, थारू हस्तकलासँगै थारू परिकार माछा, घोगी, गँगटा, सुँगुरको मासु, मुसाको मासु, ढिक्री, अनदीको रोटीलगायतका विभिन्न परिकार राखिएको छ ।
आर्थिक जागरण र सांस्कृतिक रूपान्तरण हाम्रो अभियान, सामाजिक न्याय सहित समृद्धिमा हाम्रो योगदान भन्ने मुख्य नारा सहित माघ महोत्सव आयोजना गरिएको छ । थारू कल्याणकारी सभा दाङका सभापति अशोक कुमार चौधरीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपाने, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, मतहवा महासङ्घका चन्द्रप्रकाश चौधरी, केन्द्रीय सल्लाहकार लक्ष्मी चौधरी लगायतले सम्बोधन गरेका थिए ।
थारू कल्याणकारिणी सभाले विभिन्न माग राख्दै १० बुँदे ज्ञापनपत्र मुख्यमन्त्री आचार्यलाई बुझाएको छ । थारू भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोगमा ल्याउनुपर्ने, थारू समुदायको मतहवा परम्परा लाई कानूनी मान्यता दिनुपर्ने लगायतका माग समेटिएको छ ।
