काठमाडौं : बहुप्रतिक्षित चलचित्र ‘गोबर गणेश’ को शुभमुहूर्त काठमाडौंको म्हेपी मन्दिर परिसरमा गरिएको छ । शुभमुहूर्त समारोहमा निर्देशक तथा अभिनेता मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) सहित चलचित्रका अधिकांश कलाकार उपस्थित थिए । क्यामेरा पूजा गरेर चलचित्रको पहिलो सट खिचिएको थियो । शुभमुहूर्तमा कलाकार **केदार घिमिरे ‘माग्ने बुढा’**ले नरिवल फोडेर उद्घाटन गरे भने रवि गिरीले पहिलो क्ल्याप हाने ।
शुभमुहूर्तसँगै चलचित्रको छायांकन पनि सुरु भएको छ । काठमाडौंबाट सुरु भएको छायांकन पोखरा लगायतका विभिन्न स्थानमा हुने छ । करिब ३५ दिनको सेड्युल रहने निर्देशक श्रेष्ठले जानकारी दिए ।“हामीलाई सानो पर्दामा जसरी दर्शकले साथ र माया दिनुभयो, त्यस्तै माया ठूलो पर्दामा पनि पाउँछौं भन्ने विश्वास छ,” निर्देशक श्रेष्ठले बताए ।यो चलचित्र मरिचमान श्रेष्ठको पहिलो फिचर फिल्म निर्देशन हो । ‘मेरी बास्सै’बाट लोकप्रिय बनेका उनी टेलिसिरियल ‘हल्का रमाइलो’ र ‘जुठे’ निर्देशनपछि ठूलो पर्दामा आएका हुन् ।
बल्छी धुर्बे फिल्म्सको प्रस्तुतिमा बन्न लागेको ‘गोबर गणेश’मा वर्षा सिवाकोटी मुख्य अभिनेत्री छिन् । अन्य कलाकारमा मरिचमान श्रेष्ठ, विनोद न्यौपाने, पदम तामाङ, विल्सन विक्रम राई, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, राजु याक्छा, रामप्रसाद खनाल, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना र पुजन घिमिरे (पुकु) लगायत छन् ।
चलचित्रमा तारानाथ न्यौपाने चिफ एडी, योगेश काजी शाहको बीजीएम, शंकर पाण्डे प्रोडक्सन, शिवराम श्रेष्ठ डीओपी, र विपीन मल्ल सम्पादन रहनेछ । टौवा स्टुडियो पब्लिसिटी डिजाइनमा रहेको यो चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल हो भने, वितरणको जिम्मा श्री ब्याकटेस इन्टरटेनमेन्टले लिएको छ । चलचित्र माघ १ गते रिलिज हुने घोषणा गरिएको छ ।
