दाङ : आउँदो माघ १५ गते देखि सुरु हुने तुलसीपुर नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को तयारी तिव्र पारिएको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा अमर मावि उरहरीको संयोजनमा उरहरी खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता लाई सार्थक र परिणाममुखी बनाउन यतिबेला आर्थिक व्यवस्थापन, प्रचारप्रसार, खेलमैदान मर्मत, आवास तथा भोजन, सुरक्षा, आतिथ्य सत्कार, झाकी जुलुस, सांस्कृतिक कार्यक्रम, स्काउट तथा जुरेस, मार्चपास, लगायतका सबै प्रकारका तयारी लाई तिव्र पारिएको प्रतियोगिता मूल आयोजक समितिका सदस्य सचिव तथा अमर मावि उरहरीका प्रधानाध्यापक पदम बहादुर ओलीले जानकारी दिए ।
तुलसीपुर नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहने प्रतियोगितालाई कसरी भव्य एवं सभ्य तवरले ऐतिहासिक बनाउन सकिन्छ भन्ने उद्देश्यले संयोजनको जिम्मा पाएको अमर माध्यामिक विद्यालयले वृहत भेला मार्फत मूल आयोजक समितिको मातहतमा रहने गरि विभिन्न उपसमिति गठन गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष मान बहादुर रावतको प्रमुख आतिथ्यमा विभिन्न टोल विकास संस्था, स्थानीय सुरक्षा निकाय, सङ्घसंस्था तथा बुद्धिजीवी सहभागी भेलाले आफ्नो तयारी स्वरुप विभिन्न उपसमितिहरू गठन गरेको प्रधानाध्यापक वलीले बताए ।
भेलाले मान बहादुर रावतको संयोजकत्वमा सुरक्षा व्यवस्थापन, शिक्षक देव बहादुर वलीको संयोजकत्वमा मञ्च व्यवस्थापन, डम्बर भण्डारीको संयोजकत्वमा खेलकुद सञ्चालन, निर्मल कुमार वलीको संयोजकत्वमा स्वयंसेवक परिचालन, रीता चौधरीको संयोजकत्वमा सांस्कृतिक , यज्ञ बहादुर अधिकारीको संयोजकत्वमा प्रमाण पत्र तयारी तथा व्यवस्थापन, सुष्मा भण्डारीको संयोजकत्वमा स्काउट तथा जुरेस व्यवस्थापन, देव नारायण भण्डारीको संयोजकत्वमा आवास व्यवस्थापन, जागेश्वर भण्डारीको संयोजकत्वमा चुट्का भजन, चुर्ण बहादुर रावतको संयोजकत्वमा आर्थिक सङ्कलन समिति, टिकाराम न्यौपानेको संयोजकत्वमा भोजन व्यवस्थापन उपसमिति गठन गरिएको हो । भेलामा बोल्दै प्रमुख अतिथि रावतले यस वर्षको रनिङ शिल्ड ऐतिहासिक हुने बताए ।
उनले अमर मावि उरहरीले रनिङ शिल्ड सञ्चालन गर्ने जिम्मा पाउनु सिङ्गो वडा न ११ को सान र गौरव भएकाले प्रतियोगितालाई भव्य एवं सभ्य बनाउन सबैको सहयोग उत्तिकै खाँचो रहेको बताए ।साथै खेलाडी, अतिथिलाई खाना र आवास सहित साँझ सांस्कृतिक कार्यक्रमको ब्यवस्था यस वर्षको रनिङ शिल्डमा आयोजना गरिएको उनले बताए । भेलामा नेपाली काङ्ग्रेसका हेम बहादुर वली, नेकपा एमालेका सोमिलाल चौधरी, माओवादीका गजाधर चौधरी, रास्वपाका पवित्रा केसी, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष लोकजंग शाह, स्वास्थ्य चौकी बेलटाकुराका चित्र बहादुर वली, खेलकुद पत्रकार लक्ष्मण बस्नेत लगायतले बोलेका थिए । भेलाको सहजिकरण शिक्षक यज्ञ बहादुर अधिकारीले गरेका थिए ।
