दाङ : दाङमा २० विद्यालयलाई पाँच सय फुटबल वितरण गरिएको छ । फिफा फुटबल फर स्कुल कार्यक्रम अन्तरगत सोमबार बिहान अरनिको मैदानमा आयोजित कार्यक्रममा जिल्लाका सामुदायिक र संस्थागत गरि २० विद्यालयलाई जनही २५ का दरले फूटबल वितरण गरिएको हो । अखिल नेपाल फुटबल सङ्घ –एन्फाको सहयोग र दाङ जिल्ला फुटबल सङ्घको आयोजनामा फूटबल वितरण कार्यक्रम भएको हो ।
अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कज बिक्रम नेम्वाङले फुटबल वितरण कार्यक्रमलाई सम्बधोन गर्दै तल्लो तहबाट फुटबलको विकास र फुटबलका नयाँ खेलाडी उत्पादन गर्न कार्यक्रमले सघाउ पुग्ने बताए । फिफा फुटबल फर स्कुल कार्यक्रम अन्तर्गत बालबालिकालाई फुटबल प्रशिक्षण गराउने कार्यक्रमसहित फुटबल वितरण गरिएको हुँदा त्यसले नयाँ र प्रतिभावान् खेलाडी उत्पादनमा सहयोग पुग्ने उनले आशा व्यक्त गरे ।
दाङ जिल्ला फुटबल सङ्घका अध्यक्ष सञ्जात धितालले विगतमा माग गरिएको आवेदनका आधारमा फारम भरेका विद्यार्थीलाई फुटबल वितरण गरिएको हुँदा सम्बन्धित विद्यालयका बालबालिकालाई फूटबल खेती प्रति आकर्षित हुने विश्वास व्यक्त गरे । कार्यक्रमको सहजीकरण जिल्ला फुटबल सङ्घका महासचिव लक्ष्मण बस्नेतले गरेका थिए ।
