दाङ : दाङको घोराही स्थित नेपाल पुलिस स्कुलले विद्यालयको ४० औँ वार्षिक उत्सवको अवसर पारेर सप्ताहव्यापी कार्यक्रम अन्तरगत विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता बुधवार सम्पन्न गरेको छ । सहिद दिवसको अवसर पारेर आयोजना गरिएको सहिदको सपना, हाम्रो जिम्मेवारी विषयक वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा गोर्खा मावि घोराहीका छात्रा आयुष देवकोटा प्रथम, दिपशिखा माविकी छात्रा रिदम घिमिरे द्वितीय र ज्ञानमाला एकेडेमी घोराहीकी छात्रा अदिती केसी तृतीय भइन् ।
विद्यालयका प्रधानाध्यापक नुमलाल पाण्डेको सभाध्यक्षतामा भएको कार्यक्रममा बोल्ले वक्ताहरूले देशका खातीर ज्यानको आहुती दिएका सहिदका सपना अहिलेपनि पुरा नभएको भन्दै अबको पुस्ताले सहिदका सपना पुरा गर्न नेतृत्वको खबरदारी र आआफ्नो स्थानबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।
सहिद दिवसलाई माघ १६ गते एक दिनमा मात्रै सीमित नराखी उनीहरूले देखाएको बाटोमा हिड्न र उनीहरूका सपना पुरा गर्न सके मात्रै सहिदका सपना पुरा हुने वक्ताहरूले बताएका । विद्यालयका समादेशक शिक्षक प्रहरी निरीक्षक डिल्लीराज सापकोटा स्वागत मन्तव्यबाट शुरु भएको वक्तृत्वकला प्रतियोगिताको निर्णयकमा मदन सुवेदी र अमर क्षितिज भण्डारी रहेका थिए, भने कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक प्रकाश खनालले गरेका थिए । ४० औँ वार्षिकोत्सवका अवसरमा माघ १४ गते देखी सप्ताहव्यापी कार्यक्रम शुरु गरेको नेपाल पुलिस स्कुल घोराहीले २० गते वार्षिक उत्सव कार्यक्रम समापन गर्ने छ ।
