बाँके : नागरिकलाई यातायात सम्बन्धी सेवा प्रवाहमा सहजता ल्याउने उद्देश्यले बाँकेको कोहलपुरमा यातायात कार्यालय विस्तार गरिएको छ । बुधबार देखि कोहलपुरबाट पनि यातायात सम्बन्धी सेवा प्रवाह सुरु भएको हो । लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले कोहलपुरमा यातायात सेवा कार्यालय विस्तार गर्ने निर्णय गरेको थियो । उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले कोहलपुरमा यातायात सेवा कार्यालयको उद्घाटन गरे । कार्यालयको उद्घाटन गर्दै मन्त्री न्यौपानेले नागरिकलाई यातायात सम्बन्धी सेवा सहज रुपमा प्रदान गर्नका लागि यातायात सेवा कार्यालय विस्तार गरिएको बताए ।
साथै उनले आवश्यकताका आधारमा अन्य जिल्ला तथा स्थानहरूमा समेत यातायात कार्यालय विस्तारको योजना बनाइने समेत बताए । उनले केही जिल्लामा यातायात व्यवस्था कार्यालय सञ्चालन गर्ने गरि मन्त्रालयले अध्ययन गरिरहेको बताए । ‘मुलुक सङ्घीयतामा गइसकेपछि राज्यका हरेक संयन्त्र वा शक्ति विकेन्द्रीकरण हुनुपर्छ भन्ने मान्यतामा हामी प्रतिवद्ध छौँ,’ मन्त्री न्यौपानेले भने ‘ संघियताको यही मर्म अनुरूप यातायात सम्बन्धी सेवालाई हरेक नागरिकको पहुँचसँग जोड्नु पर्छ भन्ने उद्देश्य सहित यातायात कार्यालयहरूको विस्तार गर्न जरुरी देखेका छौँ, र यो उद्देश्य पुरा गर्नका लागि मन्त्रालय लागिपरेको छ ।’
यसैगरी उनले यातायात सम्बन्धी सेवा नागरिक मैत्री हुनुपर्ने भन्दै नागरिकको सहजताका लागि मन्त्रालयले काम गरिरहेको समेत बताए । सेवाग्राहीहरूलाई कुनै पनि झन्झट नहोस् भन्नेमा मन्त्रालय गम्भिर रहेको भन्दै यातायात सम्बन्धी सेवालाई प्रविधिमैत्री बनाइने समेत बताए । कोहलपुरमा बुधबार देखि सञ्चालन भएको यातायात सेवा कार्यालयबाट तीन प्रकारका सेवा प्रवाह हुने छन । मन्त्रालयका अनुसार सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताब नवीकरण र पटके सेवा यो सेवा कार्यालयबाट प्रवाह गरिने छ । प्रदेश सरकारको कुनै पनि थप आर्थिक दायित्व सृजना नहुने गरि यातायात सेवा कार्यालय विस्तार गरिएको मन्त्री न्यौपानेले जानकारी दिए ।
यो सेवा कार्यालयमा यातायात व्यवस्था कार्यालय नेपालगञ्जकै जनशक्तिबाट सेवा प्रवाह हुने पनि मन्त्री न्यौपानेले जानकारी दिए । ‘प्रदेशको कुनै पनि आर्थिक दायित्व सृजना नहुने गरि कोहलपुरमा यातायात सेवा कार्यालय स्थापना भएको हो,’ मन्त्री न्यौपानेले भने ‘यातायात व्यवस्था कार्यालय नेपालगञ्जबाट कर्मचारी व्यवस्थापन गरेर सेवा प्रवाह गरिएको छ ।’ कोहलपुरमा यातायात सेवा कार्यालय विस्तार भएपछि कोहलपुर तथा त्यस आसपासका क्षेत्रका सेवाग्राहीलाई यातायात सम्बन्धी सेवा लिन सहज भएको छ । यातायात सेवा कार्यालयमा सेवा दिन पुगेका सेवाग्राहीले कोहलपुरमा यातायात सेवा कार्यालय सञ्चालनमा ल्याइदिएर प्रदेश सरकारले आफूहरूलाई धेरै सहजता प्रदान गरेको बताएका थिए ।
