दाङ : दाङको तुलसीपुरमा फागुन १ देखि १४ गतेसम्म मेला सञ्चालन हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका – ६ हात्तीखौवा चोकस्थित खाली जग्गामा मेला लाग्ने भएको छ ।मेला आयोजक संस्था तुलसीपुर चेम्बर अफ कमर्सले आइतबार पत्रकार सम्मेलन गरि फागुन १ देखि १६ गतेसम्म ‘दोस्रो तुलसीपुर महोत्सव’ सञ्चालन गरिने जानकारी दिएको हो ।कृषि, व्यापार, पर्यटन प्रबर्द्धन र कला संस्कृति संरक्षणका लागि महोत्सव सञ्चालन गर्न थालिएको त्यस अवसरमा जानकारी दिइएको हो ।चेम्बरका अध्यक्ष ऋषिराज भण्डारीले चेम्बरको जग्गा खरिद र भवन निर्माणमा सहयोग पुगोस् भन्ने हेतुले मेलाको आयोजना गरिएको बताएका थिए ।
स्थानीय वस्तुको बजारीकरण, पर्यटकीयस्थलको प्रचारप्रसार र स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ महोत्सव सञ्चालन गर्न लागिएको भण्डारीले बताए ।महोत्सवमा कृषिजन्य वस्तुको प्रदर्शनी, औद्योगिक प्रर्दशनी, हस्तकला, अटोमोबाइल्स, मेसिनरी तथा वित्तीय सूचना प्रविधिको प्रदर्शनी राखिने छन् । विभिन्न रैथाने खानाको प्रदर्शनी, पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने गरि सामाग्री प्रदर्शनी, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती, स्थानीय कला संस्कृति झल्कने नृत्य तथा झाँकी, बाल उद्यान लगायतका चिज बस्तु मेलामा राखिने आयोजकले जानकारी दिएको छ । मेला प्रवेश शुल्क टिकट सर्वसाधारणले प्रति व्यक्ति १०० रुपैयाँ निर्धारण गरिएको छ ।
विद्यार्थीलाई केही छुट रहने आयोजकले जानकारी दिएको छ । ७० वर्ष माथिका ज्येष्ठ नागरिकले निशुल्क प्रवेश पाउने छन् ।यो वर्षदेखि तुलसीपुर उपमहानगरपालिकाले मेला महोत्सव लगाउँदा २५ लाख राजश्व तिर्नु पर्ने नियम बनाएको थियो । चेम्बर अफ कमर्सले त्यो रकम बुझाइ सकेको पत्रकार सम्मेलनमा अवगत गराइ सकेको छ ।त्यस्तै फोहर व्यवस्थापनका लागि नगरपालिकालाई अग्रिम ५० हजार बुझाइएको पनि चेम्बरका पदाधिकारीहरूले जानकारी दिएका छन् ।
अब बिक्री टिकट मध्य थप ५ प्रतिशत कर चेम्बरले तुलसीपुरलाई बुझाउनु पर्ने सर्त छ ।तुलसीपुर नगरले घोराही भन्दा फरक मापदण्ड राखेर कर मात्रै असुल्ने नीति अख्तियार गरेको भन्दै चेम्बरका पदाधिकारीले असन्तुष्टि पोखेका थिए । चेम्बरका वरिष्ठ उपाध्यक्ष सन्तोष खड्काको स्वागत मन्तव्यबाट शुरु पत्रकार सम्मेलनको सहजीकरण महासचिव दुर्गाप्रसाद शर्माले गरेका थिए । त्यस क्रममा पूर्व अध्यक्ष टोपबहादुर घर्ती लगायतकाले धारणा राखेका थिए ।
