लुम्बिनी : लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई लुम्बिनीमा स्वागत गरेका हुन । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो फेस्टिभल लुम्बिनीमा आयोजना गरिएको छ ।
फेस्टिभल अन्तर्गतको अन्तर्राष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालय रहेको छ भने फेस्टिभलको समन्वय सारीपुत्र फाउन्डेसनले गरेको छ । नेपाल र चीनबीचको कला र संस्कृति प्रवर्द्धनको उद्देश्यसहित फेस्टिभल हुन लागेको हो । चीनको वर्ल्ड एलायन्स फर बौद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेन्टिङ एकेडेमीले सहकार्य गरेका छन् ।
संस्कृति तथा पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोषले पनि सहकार्य गरेका छन् । फेस्टिभलमा ४० देशका प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ । फेस्टिभलमा ५ हजारभन्दा बढीको सहभागिता रहने बताइएको छ । अन्तर्राष्ट्रिय सेमिनार भने लुम्बिनी बौद्ध विश्वविद्यालयमा हुनेछ । विश्वविद्यालयको मेत्ता हलमा हुने सेमिनारको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने कार्यक्रम छ ।
