
दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गर्ने बताए । लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको प्रदेश सुशासन केन्द्रले आयोजना गरेको ‘ प्रदेश सरकार र स्थानीय सरकारका प्रमुखबीच साझा सवालहरू’ विषयक अन्तरक्रिया कार्यक्रमलाई बिहीबार लमहीमा सम्बोधन गर्दै उनले कृषि नीतिमा प्राथमिकता पाउने तर बजेटमा नपर्ने समस्यालाई अब समाधान गर्दै आगामी वर्षदेखि सुनिश्चित बजेट व्यवस्था गरिने स्पष्ट पारे ।
उनले तीन तहका सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर उत्पादन र उत्पादकत्व बढाउने कार्यक्रम ल्याउँनुपर्नेमा जोड दिए । उनले प्रदेश र स्थानीय सरकारबीचको सम्बन्धलाई अझ नजिक बनाउने प्रयास भइरहेको बताउँदै साझा कार्यक्रमको विकास मार्फत अघि बढ्ने लक्ष्य रहेको बताए उनले साझा लक्ष्यहरूमा समृद्ध लुम्बिनी निर्माण, सेवा प्रवाहलाई चुस्त बनाउने र जनताको जीवनस्तर सुधार गर्ने विषयहरू रहेका स्पष्ट पारे । शिक्षामा गरिएको लगानीको अपेक्षाअनुसार प्रतिफल नआएको भन्दै उनले अब प्रतिफल दिने योजना बनाउनुपर्ने उल्लेख गरे ।
विद्यार्थी सङ्ख्या कम भएका विद्यालयहरूलाई गाभ्ने ( मर्ज गर्ने ) नीतिलाई निर्ममताका साथ कार्यान्वयन गर्नुपर्ने बताए । स्वास्थ्यको सन्दर्भमा स्थानीय तहमा निर्माणाधीन १५ बेडका आधारभूत अस्पतालहरूको सञ्चालन खर्च प्रदेश र स्थानीय सरकारले बोक्न नसक्ने भएकाले सङ्घीय सरकारले नै जिम्मेवारी लिनुपर्ने समेत बताए ।
उनले प्राथमिकताको आधार निर्धारण गरेर प्रदेश सरकार अघि बढेको जानकारी दिए । छाडा चौपाया व्यवस्थापनका लागि स्थानीय सरकारसँग साझेदारी गर्ने, पातपतिङ्गरबाट कम्पोस्ट मल उत्पादन गर्ने, अर्गानिक उत्पादनमा जोड दिने, पहाडी जिल्लाहरूलाई अर्गानिक उत्पादनतर्फ उन्मुख गराउने तथा गौशालालाई प्राङ्गारिक मल उत्पादन केन्द्र बनाउने लक्ष्यसहित काम अगाडि बढाइने बताए ।
