
दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र नेपालका लागि स्विजरल्याण्डका राजदूत डा. ड्यानिएल मेउलीबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका ( देउखुरी ) मा सम्पन्न उक्त भेटवार्तामा मुख्यमन्त्री आचार्यले सङ्घीयताको सुदृढीकरण र विकासका लागि स्विस सरकार तथा साझेदार सङ्घसंस्थाबीच अझ सघन सहकार्य आवश्यक रहेको बताए ।
प्रदेश सरकार आत्मनिर्भरताको बाटोमा अघि बढिरहेको उल्लेख गर्दै उनले स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा अझै साझेदारीको खाँचो रहेको धारणा व्यक्त गरे । उनले प्रदेश सरकार आत्मनिर्भरतातर्फ अघि बढिरहेको सन्दर्भमा मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्ने चिकित्सकहरूको व्यवस्था र निरन्तरताका लागि सहयोगको प्रस्ताव पनि गरे ।
स्विस राजदूत डा. मेउलीले स्विस सरकारले नेपालमा सङ्घीय शासन व्यवस्थाको संस्थागत विकासका लागि प्रदेशको क्षमता विकासमा साझेदारी गर्दै आएको बताइन् । सुरक्षित आप्रवासन, मानसिक स्वास्थ्य र प्राविधिक शिक्षामा प्राथमिकताका साथ साझेदारी जारी रहेको जानकारी दिँदै उनले आगामी दिनमा प्राविधिक शिक्षामा पहुँच बढाउँदै थप सहकार्य गर्न सकिने उल्लेख गरिन् ।
राजदूतसँगको उक्त भेटमा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, लुम्बिनी प्रदेशका निमित्त प्रमुख सचिव ईश्वरराज पौडेल लगायत सहभागी थिए ।
