
दाङ : लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस २०८२ भव्य रूपमा मनाउने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मूल समारोह समिति गठन गरेर दिवसलाई तीन दिन विभिन्न कार्यक्रमको आयोजना गरेर भव्य रूपमा मनाउने निर्णय गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसलाई जेठ १४, १५ र १६ गते तीन दिन विभिन्न कार्यक्रममार्फत मनाउने निर्णय गरेको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा सहित प्राप्त उपलब्धिहरूलाई जनस्तरमा पु¥याउने गरी दिवसलाई रचनात्मक रूपमा मनाउन थालिएको हो । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त गणतन्त्रको रक्षाका लागि सबै एक ठाउँमा उभिनु आवश्यक रहेको बताए ।
जेठ १४ गते प्रदेशस्थित सबै सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा फहराउने, कार्यालय परिसरमा सरसफाइ गर्ने कार्यक्रम तय गरिएको छ । जेठ १५ गते मूल समारोह अन्तर्गत जनसहभागितामा झाँकी सहित भव्य रूपमा प्रभातफेरीको आयोजना गरिनेछ । बिहान भालुबाङबाट सुरु हुने करिब पाँच किलोमिटरको प्रभातफेरी पछि प्रदेशसभा परिसरमा शुभकामना आदानप्रदान सहित समापन गरिने छ । जेठ १६ गते दीपावली कार्यक्रम आयोजना गरिने र सञ्चारमाध्यमहरूबाट गणतन्त्र दिवससम्बन्धी अन्तरवार्ता तथा सामाग्री प्रवाह गरिने गरी कार्यक्रम तय गरिएको छ ।
