
दाङ : दाङको घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा वृद्ध गरेको मालपोत तथा व्यावसायिक कर वृद्धिको निर्णय फिर्ता लिन माग गर्दै नेपाली काङ्ग्रेसले हस्ताक्षर सङ्कलन नगरपालिकालाई बुझाएको छ । कुनै वैज्ञानिक आधार नभै मनोमानी रुपमा आम नागरिकको ढाड सेक्ने गरी कतिपय शीर्षकमा शत प्रतिशतसम्म राजस्व वृद्धि गरिएको भन्दै स्थानीय पालिकाको ध्यानाकर्षण गराउन १९ वडाबाट ६ हजार ५ सय नागरिकको हस्ताक्षर सङ्कलन गरी पालिकालाई बुझाएको हो ।
नेपाली काँग्रेस घोराहीले यसअघि पनि घोराही नगरप्रमुख नरुलाल चौधरीलाई करवृद्धि फिर्ता लिन माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । उपमहानगर भएको अनुभूति गर्न नपाएका नागरिकलाई पालिकाले गरेको करवृद्धिको थप मर्का परेको भन्दै तत्काल निर्णय फिर्ता लिनुपर्ने नेपाली काँग्रेस घोराहीका नगर सभापति तिलक रावतले बताए ।
घोराही उपमहानगरपालिकाले भने आन्तरिक श्रोत कम हुँदै गएकाले आन्तरिक स्रोत बढाउनका लागि यस्तो निर्णय गरिएको प्रतिक्रिया दिएको छ । उपमहानगरपालिकाले गत आर्थिक वर्षमा ३५ करोड राजस्व उठाउने लक्ष्य लिएको थियो भने चालु आर्थिक वर्षमा ५५ करोड राजस्व उठाउने लक्ष्य लिएको छ ।
