जनताको मन जितेर सेवा प्रबाहमा लाग्न नगर प्रमुखको सुझाब
दाङ : घोराही उपमहानगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को नगर स्तरीय बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख हुमाकुमारी डिसी, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, कार्यपालिका सदस्यहरु, वडा अध्यक्षहरु, महाशाखा, शाखा प्रमुखहरु, वडा सचिबहरुको सहभागिता रहेको थियो । समिक्षा कार्यक्रममा महाशाखा, शाखा र वडाहरुले बर्ष दिनमा गरेका प्रगति विबरणहरु पेश गरेका छन् । दुई दिन चलेको समिक्षामा नगरको कुल बजेटको ७७ दशमलब ६७ प्रतिशत बजेट खर्च भएको छ । वितेको आर्थिक बर्षमा २ अर्ब ३३ करोड ८२ लाख ३२ हजार २ सय ५० रुपैयाँ बजेट प्रस्ताब गरेकोमा १ अर्ब ८६ करोड २६ लाख २५ हजार ९७ रुपैयाँ बास्तविक बजेटमा कायम भएको थियो ।
बास्तविक बजेटमा १ अर्ब ८१ करोड ६२ लाख ३५ हजार ९ सय २२ रुपैयाँ खर्च भएको छ । लुम्बिनी प्रदेश सरकारबाट विभिन्न शिर्षकमा ३ करोड ६४ लाख ६२ हजार रुपैयाँ प्राप्त भएकोमा २ करोड ८९ लाख ९ सय ६७ रुपैयाँ अर्थात ७९ दशमलब २६ प्रतिशत खर्च भएको कार्यक्रममा जानकारी दिईएको छ । संघिय सशर्तबाट ८७ करोड ३९ लाख ४९ हजार रुपैयाँ आएकोमा ७३ करोड ९७ लाख ९६ हजार ३ सय ९४ रुपैयाँ अर्थात ८५ दशमलब ६२ प्रतिशत खर्च भएको छ । नगर स्तरीय राजस्वबाट ३८ करोड ८६ लाख ३१ हजार ७ सय ५० रुपैयाँ संकलन भएकोमा ३० करोड ८७ लाख ७५ हजार ७ सय २१ रुपैयाँअ अर्थात ७९ दशमलब ४५ प्रतिशत खर्चको भएको छ । कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले समग्र नगरवासी, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला निकायको सहयोगले योजनाहरु कार्यान्वयन हुन सकेकोमा धन्यवाद ज्ञापन गरे ।
नगरले शिक्षामा गुणस्तर सुधार, स्वास्थ्य सेवा प्रवाह, सडक सञ्जाल विस्तार, खानेपानी तथा सरसफाइ, कृषि तथा युवा उद्यमशीलता लगायतका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको बताए । सेवा प्रवाहलाई प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउन पारदर्शिता, गुणस्तरीयता र जवाफदेहितामा विशेष ध्यान दिन सुझाब दिए । पालिकाको नियमित कार्य सम्पादन तथा योजनाको प्रभावकारी कार्यान्वयनका लागि कर्मचारीहरूलाई जिम्मेवार, इमान्दार र जनउत्तरदायी भएर काम गर्न आग्रह गरे ।
कार्यक्रममा नगर उपप्रमुख हुमाकुमारी डिसीले प्रशासनिक संरचनाले जनताको हितमा काम गर्न नसके जनता र सरकारबीचको विश्वास गुम्न सक्ने भन्दै जनताले महसुस गर्न सक्ने गरी सेवा प्रवाह गर्नुपर्ने धारणा राखिन । उनले पालिकाले सञ्चालन गर्ने योजना, कार्यक्रम र सेवा वितरणका सबै पक्षमा पारदर्शिता कायम गरी अनियमितता र ढिलासुस्तीलाई अन्त्य गरेर अघि बढ्नुपर्नेमा जोड दिइन । प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले नगरवासीलाई नतिजामुखी सेवा प्रदान गर्नुपर्ने बताउँदै समग्र विकासमा योजनाको प्रभावकारिता, स्रोतको सही उपयोग र जनसहभागिताको सन्तुलन अत्यन्त महत्वपूर्ण हुने बताए । कर्मचारी र जनप्रतिनिधिबीचको समन्वय, सहकार्य र आपसी विश्वासबाट मात्रै समृद्ध उपमहानगर बनाउने लक्ष्य हासिल हुने बताउँदै सबै कर्मचारीलाई सकारात्मक सोच, लगनशीलता र उत्तरदायित्वका साथ कार्य सम्पादन गर्न आग्रह गरे ।
