बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार क्षेत्रलाई सकारात्मक धारणा निर्माणमा अगुवा भूमिका निर्वाह गर्न आग्रह गरे । राष्ट्रिय टेलिभिजन प्रसारक सङ्घ लुम्बिनी प्रदेशको नव निर्वाचित कार्यसमितिको पद हस्तान्तरण समारोहलाई शनिबार रूपन्देहीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार मिडिया क्षेत्रको दिगोपनाका लागि प्रतिबद्ध रहेको बताए । लुम्बिनी प्रदेशको समृद्धि र विकासका लागि सञ्चार क्षेत्रले सम्भावना पहिचान गर्दै सकारात्मक योगदान दिनुपर्नेमा उनले जोड दिए । उनले सरकार समस्याको समाधानका लागि सुन्न र कार्यान्वयनमा जान तयार रहेको स्पष्ट पारे ।
उनले मिडिया संस्थाको सङ्ख्या वृद्धि भएको सरकारले बजेटको आकार बढाउन भूमिका खेलिरहेको बताए । उनका अनुसार, प्रदेश सरकारद्वारा सञ्चार क्षेत्रमा विगतको तुलनामा बढी बजेट विनियोजन गरिएको छ । १२ वटै जिल्लालाई समान दृष्टिकोणका साथ महत्त्व दिइएको र मिडियाको हकहितका लागि वकालत गरिरहेको उनले उल्लेख गरे । ‘सञ्चार समन्वय परिषद्को भूमिका थप प्रभावकारी बनाउन कानुनी सुधारको प्रक्रिया अघि बढाइएको छ,’ उनले भने , ‘अहिले अर्थ मन्त्रालयमा पुगेको ऐन मन्त्रिपरिषद् हुँदै यही वर्षे अधिवेशनमा सदनमा प्रस्तुत हुन्छ । सञ्चार ऐनमा आवश्यक सुधार यही वर्ष हुन्छ ।’
कार्यक्रममा लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषद्का अध्यक्ष यमबहादुर गाहा ‘मिलन’ ले सञ्चार क्षेत्रको सुदृढीकरणलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे । राष्ट्रिय टेलिभिजन प्रसारक सङ्घका केन्द्रीय उपाध्यक्ष विष्णु भुसालले प्रदेशमा समानुपातिक विज्ञापन वितरणको नीति आवश्यक रहेको बताए । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामराज प्रसाद पोखरेलले आशा जगाउने खालका कार्यमा सञ्चार क्षेत्र लाग्नुपर्नेमा जोड दिँदै सकारात्मक विषयवस्तुलाई प्राथमिकता दिनुपर्ने बताए ।
