दाङ : “साथीको घरमा आँसु थियो, हामीले त्यो पुछ्न सकेनौं, तर थोरै मुस्कान फर्काउन भने सकेका छौं।” यो भनाइ हो, तुलसीपुर–६ स्थित हिमाल एकाडेमीकी विद्यार्थी माया ओलीको — जसले आफ्नै कक्षामा अध्ययनरत साथी तुलसीपुर ११ की आदित्य चौधरीको परिवारलाई सहयोग जुटाउने नेतृत्व लिइन्। कक्षा ८ मा अध्ययनरत आदित्य चौधरीको बुबाको केहि दिन अगाडि मृत्युपछि उनका परिवार हाल शोकमा र आर्थिक संकटबाट गुज्रिरहेका छन्।
उनका बुबा तुलसीराम चौधरीको दुबै मिर्गौला फेल भएर निधन भयो। उनी परिवारका एकमात्र आयस्रोत थिए। श्रीमानको उपचारमा धेरै खर्च गरेर श्रीमानलाई बचाउन नसक्दा आदित्यकी आमा उर्मिला चौधरी अझै पनि शोकमै छन् । आफ्नै साथीको यस्तो कठिन अवस्थामा देखेपछि उनका विद्यार्थीहरू चुप लागेर बस्न सकेनन्। कक्षामा अनुपस्थित हुँदा बचत भएको पैसा, आफ्नो खाजा खर्च कटाएर र विद्यालयका शिक्षकहरूको सहयोगबाट गरी जम्मा तीस हजार पैँतालीस रुपैयाँ सहयोग जुटाए।
उक्त रकम आइतबार नै विद्यार्थी टोलीले आदित्यको घर – तुलसीपुर–११ मा पुगेर उनकी आमा उर्मिलालाई हस्तान्तरण गरेका हुन्। सहयोगको अगुवाइ गरेकी माया ओली भन्छिन्, “सानो लाग्न सक्छ, तर यो रकमभन्दा ठूलो कुरा हो हामी सबैको साथ र माया।” सहयोग पाएपछि भावुक भएकी उर्मिलाले भनिन्, “श्रीमानको उपचारमा सबै सकियो। अब त केही बाँकी थिएन। छोरीको साथीहरू र शिक्षकहरूले दिएको साथले फेरि आशा पलाएको छ।” यस सहयोग कार्यक्रमले विद्यालय शिक्षा मात्र दिने होइन, संवेदना र सामाजिक उत्तरदायित्व पनि सिकाउने थलो बन्न सक्छ भन्ने उदाहरण देखाएको छ।
