दाङ : हिमाल स्काउट ट्रुप, तुलसीपुर दाङको आयोजनामा एकदिने विद्यार्थी लक्षित तनाव व्यवस्थापन कार्यशाला आइतबार सम्पन्न भएको छ। कार्यक्रम स्काउट ट्रुप हिमाल एकाडेमीका स्काउटर प्रणब साहको अध्यक्षता र तुल्सिपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
कार्यक्रमका प्रमुख अतिथि खड्काले विद्यार्थीहरूको व्यक्तित्व र नेतृत्व विकासमा स्काउटले पुर्याएको योगदानको चर्चा गर्दै पछिल्लो समय बालबालिकामाझ तनाव एक प्रमुख समस्या बनेको बताए। “आजका विद्यार्थी भोलिका कुशल राष्ट्रसेवक हुन्,” भन्दै उनले मन, वचन र कर्मबाट समाज सेवामा लाग्न सबैलाई आग्रह गरे।
कार्यक्रमकी विशेष अतिथि तथा प्रशिक्षक ॐ शान्ति विश्व विद्यालयकी दिदी माला ले आत्मिक ज्ञानबाट नैतिकता र इमान्दारिता विकास हुने उल्लेख गर्दै यस्ता कार्यक्रमले मानव जीवनको सार्थकता पुष्टि गर्ने बताइन्। नेपाल स्काउटका केन्द्रीय सदस्य नवीन कुमार पराजुली, प्रदेश सदस्य निरञ्जना पाण्डे र विद्यालयका प्रधानाध्यापक मधुसूदन केसीले स्काउट शिक्षा, मूल्य, मान्यता तथा स्काउटरको भूमिकामाथि प्रशिक्षण दिएका थिए। कार्यक्रमको सहजीकरण स्काउट मास्टर अन्जली साहले गरेकी थिइन्।
