दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादन र उद्यमशीलताको प्रवर्द्धन मार्फत रोजगारी सिर्जना गर्न सकिने बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका ( देउखुरी ) मा सोमवार उद्यमी बाबु रोकासँग भएको छलफलको क्रममा मुख्यमन्त्री आचार्यले नवप्रवर्तनयुक्त योजना सहित स्थानीय स्तरमै उत्पादन र स्वरोजगारलाई प्रोत्साहन गर्ने कार्यलाई प्रदेश सरकारले नीति तथा कार्यक्रमको प्राथमिकतामा राखेको बताए ।
भूमिकास्थान ५, जोगिटारी हाल लमही नगरपालिका ४, अर्नहवा निवासी उद्यमी रोकासँगको छलफलमा उनले भने, ‘ हामीले स्थानीय उत्पादन र उद्यमशीलता मार्फत समृद्धि हासिल गर्ने सङ्कल्प गरेका छौं । स्थानीय स्तरमै उत्पादन बढाउने, बजारीकरणको अवसर विस्तार गर्ने र सीपमा आधारित रोजगार सृजना गर्न सरकार प्रतिबद्ध छ। उनले बाँसजन्य उत्पादनजस्ता स्थानीय स्रोतमा आधारित उद्योगमार्फत आम्दानी र रोजगारको सम्भावना धेरै रहेको उल्लेख गर्दै यस्ता क्षेत्रमा सरकारले नीति, योजना र सहुलियत मार्फत सहयोग गर्ने बताए ।
उद्यमी रोकाले बाँसजन्य सामग्री उत्पादन मार्फत स्वरोजगारमा जोड दिँदै स्थानीय युवालाई सीपमूलक तालिम र रोजगारीको अवसर सिर्जना गर्दै आएको जानकारी गराए । उनले उत्पादन, बजारीकरण र प्रविधिमा थप सहयोगको आवश्यकता रहेको बताउँदै प्रदेश सरकारसँग सहकार्यको अपेक्षा व्यक्त गरे । उनले स्थानीय स्रोत र ज्ञानमा आधारित उद्यमशील प्रयासहरूलाई प्रोत्साहन गर्दै, समृद्ध प्रदेश निर्माणको योजनालाई कार्यान्वयनमा लगिएको जानकारी दिए । छलफलमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार लक्ष्मणराज ज्ञवाली समेत सहभागी रहेको थियो ।
