दाङ : दाङको घोराही उपमहानगरपालिका–३, बरगदवा, भानपुरमा करिब ४ अर्ब रुपैयाँको लागतमा निर्माण भएको सञ्जीवनी शिक्षण अस्पताल यही असोज ६ गते औपचारिक रूपमा उद्घाटन हुने भएको छ। शुभारम्भका अवसरमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिने अस्पतालले जनाएको छ। अस्पतालका सीईओ दीपक रोकाले घटस्थापनाको अवसर पारेर हुने उक्त उद्घाटन कार्यक्रममा सबैलाई सहभागी भई साथ–सहयोग गर्न आग्रह गरेका छन्।
उनका अनुसार सञ्जीवनी अस्पताललाई आधुनिक प्रविधियुक्त, गुणस्तरीय स्वास्थ्य सेवा र शैक्षिक अनुसन्धान केन्द्रका रूपमा विकसित गर्ने तयारी गरिएको छ। प्रारम्भिक चरणमै ५०० शैयासहित सञ्चालनमा ल्याइने अस्पतालमा अत्याधुनिक उपकरणसमेत उपलब्ध हुने बताइएको छ। विशेष गरी दाङसहित मध्यम र पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने लक्ष्य अस्पतालले लिएको छ।
शुभारम्भपछि अस्पतालले सामान्य उपचारदेखि उच्चस्तरीय शल्यक्रिया, मातृत्व तथा बाल स्वास्थ्य, आकस्मिक सेवा, एनआईसीयू, पीआईसीयू, भेन्टिलेटरसहितका आईसीयू, एमआरआई, सीटी स्क्यान लगायतका सेवा प्रारम्भ गर्ने तयारी गरेको छ। साथै, शिक्षण अस्पतालका रूपमा संचालन गर्दै आगामी दिनमा दक्ष चिकित्सक र स्वास्थ्यकर्मी उत्पादन गर्ने उद्देश्य पनि रहेको सीईओ रोकाले बताए।
अस्पतालका अनुसार यसले स्वास्थ्य सेवा मात्र नभई स्थानीय तहमा रोजगारी सिर्जना गर्ने, स्वास्थ्य पर्यटन प्रवर्द्धन गर्ने र क्षेत्रीय स्तरमा स्वास्थ्य शिक्षा तथा अनुसन्धानमा महत्वपूर्ण योगदान दिनेछ। स्थानीयवासी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, उद्योगी व्यवसायी तथा विभिन्न सरोकारवाला पक्षहरूले असोज ६ गते हुने शुभारम्भ कार्यक्रममा सहभागिता जनाई सञ्जीवनी अस्पताललाई थप सबल बनाउनुपर्ने अपेक्षा गरिएको छ।
