दाङ : ‘युथ्स अफ तुलसीपुर’ले २६औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा दंगीशरण गाउँपालिका–२ कौवाघारीस्थित प्राथमिक विद्यालयका ७६ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। मंगलबार सम्पन्न कार्यक्रममा प्रत्येक विद्यार्थीलाई ६ वटा कापी, ५ वटा इरेजर, ५ वटा कटर र १ दर्जन पेन्सिल प्रदान गरिएको थियो।
संस्थाका अध्यक्ष अरुण लहरेका अनुसार वितरण गरिएका सामग्रीको मूल्य करिब ६५ हजार बराबर पर्छ। कार्यक्रमलाई सम्बोधन गर्दै दंगीशरण गाउँपालिकाकी उपाध्यक्ष पीमा वली खड्काले बिकट भूगोलका बालबालिकाको पठनपाठनमा सहयोग पुर्याएकोमा धन्यवाद दिँदै यस्ता सामुदायिक सहकार्य शिक्षाको विकासका लागि आवश्यक रहेको बताइन्।
त्यसैगरी वडा अध्यक्ष डम्बरबहादुर खत्रीले सानो सहयोग पनि गरिब परिवारका बालबालिकाको शैक्षिक प्रगतिमा ठूलो प्रेरणाको स्रोत बन्न सक्ने धारणा राखे। अध्यक्ष अरुण लहरेले जिल्लाकै बिकट मानिने कौवाघारीमा शिक्षा प्रतिको भरोसा र महत्व बढाउनका लागि सामग्री वितरण गरिएको बताए।
उनले आगामी दिनमा थप दुई सामुदायिक विद्यालयमा पनि यस्तै सहयोग गर्ने योजना रहेको जानकारी दिए। कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष पोषण बस्यालले गरे भने सहजीकरण सचिव सुदीप नेपालीले गरेका थिए।
