दाङ : जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले रासायनिक तथा विषादी मिसिएको खानपानका कारण मानसिक रोगको जोखिम बढ्दै गएको बताएका छन् । बुधबार बिजौरीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अत्यधिक विषादी प्रयोगले नागरिकको मानसिक स्वास्थ्यमा प्रतिकूल असर परेको बताएका हुन्।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका उनले किसानहरूले गाईगोरुबाट प्राप्त हुने जैविक मलको सट्टा रासायनिक मल तथा विषादीको अत्यधिक प्रयोग गर्न थालेको बताए । जसको असर दीर्घकालीन रूपमा देखिन थालेको उनको भनाई थियो । ‘अर्गानिक खानपानमा ध्यान नदिँदा मानसिक रोगको शिकार हुनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ, उनले भने–‘ सरकार आफैँले रासायनिक मल अनुदानमा उपलब्ध गराइरहेको छ, जुन रोगको मुख्य स्रोत बन्दै गएको छ।’
सरकारको अनुदान र किसानको असंवेदनशिलताले समाज एक प्रकारको मानसिक अन्योलतर्फ उन्मुख भइरहेको भन्दै चेतावनीसमेत दिए। कार्यक्रममा वडा नं. १६ का अध्यक्ष शिवानन्द डाँगीले रासायनिक मल तथा विषादीको प्रयोगलाई ‘मन्द विष सेवन’ को रूपमा व्याख्या गरे। ‘आज प्रायः हरेक घरमा कुनै न कुनै प्राणघातक रोग पसेको छ, उनले भने–‘ त्यो विषादीजन्य खानपानकै कारण क्यान्सर, एन्जाईटी , मधुमेह जस्ता रोगको सिकार बन्न पुगेका छौँ।’ वडा नं. १८ का अध्यक्ष माधव वलीले विषादीमुक्त उत्पादनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउँदै बीउ र मल वितरणमा सरकारको स्पष्ट नीति आवश्यक रहेको बताए।
कार्यक्रममा पत्रकार महासङ्घका उपाध्यक्ष ओपेन्द्र बस्नेतले यदि सरकारले अर्गानिक उत्पादनलाई नीतिगत रूपमा अघि बढाउँछ भने यस्ता कार्यक्रम गर्न जरुरी नपर्ने बताए । विसं २०९० सम्म दाङ उपत्यकालाई अर्गानिक उपत्यकाको रूपमा विकास गर्ने लक्ष्यसहित भए गरेका कामहरूको बारेमा जानकारी दिने उद्देश्य सहित उक्त कार्यक्रम आयोजना गरिएको थियो । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको आयोजनामा भएको कार्यक्रममा डिल्ली बहादुर रावतको अध्यक्षता रहेको थियो । कार्यक्रमको सहजीकरण सचिव मेनका शर्माले गरेकी थिइन्।
