काठमाडौं : भदौ ६ गते रिलिज हुने बहुप्रतिक्षित चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट (यू) प्राप्त गरेको छ । यससँगै यो चलचित्र सबै उमेरका दर्शकले हलमा हेर्न पाउने भएका छन् । सिनेमाको कथावस्तु हालसम्म निर्माणपक्षले गोप्य राखेको छ । ‘जनै’ कसरी हराउँछ ? कसको जनै हराउँछ ? भन्ने प्रश्न अझै पनि अनुत्तरित छ । यसैले दर्शकले हलमै गएर यसको खुलासा पाउनेछन् ।
चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली लगायतको दमदार अभिनय छ भने, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा र सुमन थापा पनि महत्वपूर्ण भूमिकामा छन् । ‘जनै हराएको मान्छे’ पेपरक्लिप ब्यानरमा निर्माण भएको हो । निर्माणमा कमल न्यौपाने र विमल न्यौपाने छन् भने कार्यकारी निर्माता नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धरलगायत रहेका छन् ।
सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । नवीन गुरुङ (डीओपी), कृष्ण परियार (सिनेमेटोग्राफी), थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटी (संगीत) जस्ता कलाकार तथा प्राविधिकहरूको पनि सहभागिता रहेको छ । गोविन्द शाहीको काफिया फिल्मसले वितरण गर्ने यो चलचित्रको रनटाइम २ घण्टा २३ मिनेट रहनेछ । अलटाइम ब्लकबस्टर चलचित्र *‘पूर्णबहादुरको सारंगी’*पछि विजय बराल मुख्य भूमिकामा देखिन लागेको यो यस वर्षको पहिलो चलचित्र हो ।
