रूपन्देही : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उपभोक्ताको हित संरक्षण गर्न व्यवसायीले इमानदारिता देखाउनुपर्ने र उपभोक्ता सचेत हुनुपर्ने बताए । उपभोक्ता हित संरक्षण मञ्च नेपालले शनिबार बुटवलमा आयोजना गरेको व्यवसाय र उपभोक्ताको मानव अधिकार सम्बन्धी सक्षमता अभिवृद्धि कार्यक्रमलाई उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले उपभोक्ताको हित संरक्षण गर्न व्यवसायीले इमानदारिता देखाउनै पर्ने बताए । प्रदेश सरकारले अनुगमनलाई तिव्रता दिन प्रदेश स्तरीय संयन्त्र निर्माण गरिने समेत बताए ।
‘चाडपर्वको बेलामा मात्रै होइन, १२ महिना, ३६५ दिननै अनुगमन र निगरानी हुने व्यवस्था गरिनुपर्छ’ उनले भने ,‘प्रदेश तहबाट पनि एउटा अनुगमन संयन्त्र बनाउछौँ ।’ बजारमा हुने अनुचित व्यापारलाई निरुत्साहित गर्न उपभोक्ता अधिकार संरक्षणलाई बलियो बनाउनुपर्ने बताए। अखाद्य बस्तुको उपभोगका कारण नागरिकको स्वास्थ्यमा नराम्रो असर परिरहेको, नसर्ने तर दीर्घरोगबाट पीडित हुनुपर्ने अवस्था रहेको भन्दै उनले अखाद्य बस्तुको कारोबारलाई निरुत्साहित बनाउनुपर्ने बताए।
उपभोक्ताको अधिकार सुनिश्चित गर्न सशक्त कानूनी संरचना निर्माण, सचेतना अभियानहरू तीब्र पारिनुपर्ने, गुणस्तरीय परिक्षण र नियमनको कामलाई प्रभावकारी रुपमा अघि बढाइने समेत बताए । उपभोक्ताको हितसँग खेलवाड गरी अनुचित व्यापार गर्नेलाई कानूनी रुपमा दण्डित गर्ने र उत्कृष्ट सेवा तथा गुणस्तरीय उत्पादन दिने व्यवसायीलाई प्रोत्साहन गर्न जरुरी रहको पनि बताए । प्रदेश सरकारले सुधारका कामहरूलाई अघि बढाएको र त्यसमा नागरिक सहभागिता बढ्नुपर्ने बताए ।
सामाजिक सुधारका काममा सरकारले सफलता हासिल गरेको भन्दै उनले प्रदेश तहमा देखिएका कुपोषण जस्ता समस्यालाई न्यूनिकरण गर्न विशेष पोषण कार्यक्रम सञ्चालन गरिएको समेत बताए । यस्तै उनले फरक प्रसङ्गमा सरकारले सेवा प्रवाहलाई सुधार गर्न नयाँ कदम चालेको र त्यसमा सबैको साथ सहयोग आवश्यक पर्ने पनि बताए ।
