दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग नेपाल पत्रकार महासङ्घका केन्द्रिय निवर्तमान अध्यक्ष विपुल पोख्रेल लगायत सञ्चार सम्वद्ध प्रतिनिधि मण्डलले आइतबार छलफल गरेको छ । प्रदेश सरकारले बनाउने आगामी आर्थिक वर्षको बजेटमा सञ्चार क्षेत्रबाट समेटिनुपर्ने विषय र प्राथमिकताको बारेमा छलफल गरिएको हो । निवर्तमान केन्द्रिय अध्यक्ष पोख्रेलले सञ्चार संस्थाको सबलीकरण र पत्रकारहरूको पेशागत हक अधिकार सुनिश्चित हुनेगरि नीति तथा कार्यक्रम लक्षित गर्न अनुरोध गरे ।
कोभिड पछि नेपाली मिडिया क्षेत्र धराशायी हुने अवस्थामा पुगेको भन्दै सञ्चार संस्थालाई बलियो बनाउने र पत्रकारहरूको पेशागत हक हित रक्षालाई बल पुग्नेगरि कार्यक्रम बनाउन सुझाव दिए । लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषद्को भूमिका बढाउने गरी सरकारले नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिन अनुरोध गरिएको छ । निवर्तमान अध्यक्ष पोख्रेलले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि विधागत तालिम तथा प्रशिक्षणका लागि पनि प्रदेश सरकारले पहल लिनुपर्नेमा जोड दिए ।
यस्तै नेपाल पत्रकार महासङ्घ दाङका पूर्व अध्यक्ष सुदीप गौतमले १२ जिल्लामा रहेका पत्रकार महासङ्घको संस्थागत विकासमा समेत प्रदेश सरकारले भूमिका बढाउने गरी कार्यक्रम बनाउन सुझाव दिए । मुख्यमन्त्री आचार्यले प्रदेश सरकार सञ्चार माध्यमको सवलिकरणका लागि नीतिगत रुपमा स्पष्ट भएको, सञ्चार समन्वय परिषद्का्े कामलाई प्रभावकारी बनाउन नीतिमा सुधार गर्न थालिएको, सञ्चार माध्यमलाई बलियो बनाउन प्रदेश तहबाट गरिने विज्ञापन वितरणमा एकरूपता गरिने स्पष्ट पारे ।
प्रदेश स्थापना भएदेखिनै सञ्चार क्षेत्रलाई प्राथमिकतामा राख्दै सरकारले नीति तथा कार्यक्रम र बजेट बनाउदै आएको बताए। सुशासन, जबाफदेहीता र पारदर्शीताका लागि सञ्चार क्षेत्र बलियो हुनुपर्ने र त्यसका लागि प्रदेश सरकारले समेत ध्यान दिएको उनले बताए । यस्तै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री आदेशकुमार अग्रवालसँग पनि भेट गर्दै नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयको बारेमा छलफल भएको छ ।
