तुलसीपुर २७ फागुन । तीन बुँदे सहमति पछि अवरुद्ध पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको अर्जुन खोलामा अवरुद्ध सडक साँझ ६ बजेपछि खुलेको छ । मृतकका दुई सन्तानलाई उच्च शिक्षा सम्म निःशुल्क पढाउने, श्रीमतीलाई रोजगारी दिलाउन पहल गर्ने र क्षेतिपूर्ति वावतको रकम कानुन अनुसार पिडितलाई उपलब्ध गराउने सहमती जुटेपछि अवरुद्ध राजमार्ग सुचारु भएको वडा प्रहरी कार्यालय लमहीका इन्चार्ज शंकर श्रेष्ठले जानकारी दिनुभयो
। पिडित पक्ष, विभिन्न राजनीतिक दल र लमही नगरपालिका प्रमुख तथा उप्रमुख बीच भएको संयुक्त बैठकमा उक्त सहमती भएको हो । विभिन्न माग राख्दै आफन्तहरूले दिउँसो साढे २ बजे बाट राजमार्गमा अवरुद्ध गरेपछि पूर्व पश्चिमका लागी छुटेका सयौं सवारी साधन र यात्रु अलपत्र परेका थिए । दाङको अर्जुनखोला पुलमा शुक्रबार दिउँसो भएको दुर्घटनामा परेर घाइते अटो रिक्सा चालक लमही नगरपालिका– ७ निवासी ३५ वर्षीय विष्णुबहादुर थापाको मृत्यु भएको थियो ।
महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको प्र ३–०१०२२ च १७५७ नम्बर को स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेका रा १ ह ६९१२ नम्बरको अटोलाई ठक्कर दिएको थियो । लगत्तै अटोको पछाडि रहेका रा २ प ५३८० नम्बरको मोटरसाइकल र रा ७ प ३५२६ नम्बरको स्कुटरसमेत ठक्कर खाएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर घाईते स्कुटी चालक लमही न.पा.७ हसनापुर बस्ने बर्ष २१ को विश्व खड्काको नेपालगञ्जमा उपचार भइरहेको छ । उहाँको टाउकोमा चोट छ । मोटरसाइकल चालक राजपुर गाँउपालिका–३ निवासी २२ दिपक घर्ती, मोटरसाइकलमा सवार गढवा–६ निवासी १९ वर्षीय मनिष सार्की, अटोमा सवार सोही ठाउँ निवासी ५५ वर्षीय हरि पुन, भारत उत्तर प्रदेश बिहार जिल्ला खगरिया निवासी ४० वर्षीय पंकज सिह र भारत उत्तर प्रदेश रामपुर निवासी ५० बर्षिया कश्मिर सिह घाइते भएका थिए । उनीहरूको स्थानीय अस्पतालमा उपचार गरिएको थियो ।
